आलोचनापछि मृत्युदण्ड लाइभ गर्ने ट्रम्पको योजना रद्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००९ मा टेक्सासस्थित फोर्ट हुड सैन्य आधारमा गोली चलाएर १३ जनाको हत्या गरेका निदाल हसनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण नगरिने बताएका छन् । उनले रक्षामन्त्री पीट हेगसेथको लाइभ स्ट्रिम गर्ने योजना रद्द गरेका हुन् ।
हसनलाई डिसेम्बर ३ मा फायरिङ स्क्वाडमार्फत मृत्युदण्ड दिने तय भएको छ । उनको मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको अमेरिकाभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको थियो । अमेरिकी डेमोक्रेटिक तथा रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, मानवअधिकार समूह र संयुक्त राष्ट्रसङ्घले यसप्रति आपत्ति जनाएका थिए ।
ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा हसनलाई निर्धारित मितिमै मृत्युदण्ड दिइने तर त्यसको प्रत्यक्ष प्रसारण नहुने बताएका हुन् ।
यद्यपि, उनले प्रत्यक्ष प्रसारणको योजनाप्रति व्यक्तिगत रूपमा असहमति नरहेको सङ्केत गरेका छन् । ट्रम्पका अनुसार यस्तो प्रसारणले आतङ्कवादका दोषीलाई अमेरिकाले कसरी व्यवहार गर्छ भन्ने संसारलाई देखाउन सक्थ्यो ।
उनले मृत्युदण्ड हेर्न नचाहने मानिसहरूको भावनालाई पनि ध्यान दिनुपर्ने बताएका छन् । साथै, पीडितका नजिकका परिवारले चाहेमा मृत्युदण्ड प्रत्यक्ष हेर्न सक्ने उनको भनाइ छ ।
लाइभ स्ट्रिम गर्ने योजना रद्द हुनु रक्षामन्त्री हेगसेथका लागि ठूलो धक्का मानिएको छ । उनी इरान युद्धसम्बन्धी गतिरोध र त्यसको प्रभावका कारण पनि आलोचनामा पर्दै आएका छन् ।
सन् २००९ मा फोर्ट हुड सैन्य आधारमा भएको गोलीकाण्डमा १३ जनाको मृत्यु भएको थियो । हसनलाई दिन लागिएको मृत्युदण्ड सन् १९४५ पछि अमेरिकी सेनामा फायरिङ स्क्वाडमार्फत दिइने पहिलो मृत्युदण्ड हुने बताइएको छ ।
हेगसेथले गत साता मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको पुष्टि गर्दै त्यसलाई सार्वजनिक रूपमा देखाउन सकिने बताएका थिए ।





प्रतिकृया दिनुहोस