यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी आक्रमण, पाँचको मृत्यु

यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल–माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको मुख्यालयका रूपमा प्रयोग हुँदै आएको दरबार परिसरमा पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको अधिकारीहरूले बताएका छन् ।

यमनका सूचना मन्त्री मोअम्मर अल–इरियानीले आक्रमणका बेला प्रधानमन्त्री शाया जिन्दानीसहित अन्य मन्त्रीहरू सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य मन्त्री कासिम बुहैबेका अनुसार मृत्यु हुने र घाइते हुनेमा दरबारको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी छन् ।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले अदनस्थित साउदी नेतृत्वको सैन्य कारबाही मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन् । हुथी समूहद्वारा सञ्चालित अल–मसिरा टेलिभिजनले उक्त परिसरमा रहेको साउदी अधिकारीहरूको सैन्य मुख्यालयमा आक्रमण भएको जनाएको छ । यद्यपि, साउदी अरब वा साउदी नेतृत्वको गठबन्धनले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

प्रधानमन्त्री जिन्दानीले आक्रमणको निन्दा गर्दै यसलाई हुथी विद्रोहीको आपराधिक गतिविधिको निरन्तरता भनेका छन् । उनले सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहने र हुथीविरुद्धको सैन्य अभियानमा सरकारी सेनाको मनोबल कमजोर नहुने बताएका छन् ।

यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई हटाएपछि गृहयुद्ध सुरु भएको थियो । सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले सरकारको नियन्त्रण पुनःस्थापित गर्न सैन्य हस्तक्षेप गरेपछि द्वन्द्व थप चर्किएको थियो ।

पछिल्लो समय सरकारी सेना र हुथी विद्रोहीबीचको संघर्ष पुनः तीव्र बनेको छ । साउदी नेतृत्वको हवाई सहयोगमा सरकारी सेनाले गरेको प्रत्याक्रमणपछि रणनीतिक रूपमा महत्त्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्यनजिकका केही क्षेत्रमा नियन्त्रण पुनःस्थापित गरेको दाबी गरेको छ ।

यमनको स्वास्थ्य मन्त्रालयका अनुसार अगस्ट ६ यता जारी संघर्षमा कम्तीमा एक हजार २८२ जनाको मृत्यु भएको छ भने पाँच हजार ८९० जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्वका कारण थप दुई लाख एक हजार मानिस विस्थापित भएका छन् । यसैबीच, हैजाका शंकास्पद बिरामीको संख्यामा समेत वृद्धि भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
↑