सवारी खरिदकर्ता यातायात कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हट्यो

नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था हटाइएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै सवारी दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो।

विभागको सोमबारको निर्णयअनुसार संशोधित व्यवस्थामा निजी तथा सार्वजनिक सवारी साधनको पहिलो नामसारी गर्दा डिलरले गरेको जाँचलाई नै मान्यता दिइनेछ। यससँगै सवारी साधनको पुनः जाँचका लागि खरिदकर्ता वा सवारी साधनलाई यातायात व्यवस्था कार्यालयमा उपस्थित गराउनुपर्ने छैन।

नयाँ व्यवस्थाअनुसार सवारी साधन खरिदकर्ता स्वयं उपस्थित हुन नसकेमा आवश्यक कागजातसहित प्रतिनिधिमार्फत दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्न सकिनेछ। त्यसका लागि डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित गराउनुपर्नेछ।

त्यस्तै, सवारी साधनको बीमा गर्न वा बीमा नवीकरण गर्न पनि सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन।

विभागले सवारी साधनको नामसारी प्रक्रियालाई थप सहज बनाउन सवारी दर्ता प्रणाली (भीआरएस) मा विक्रेता, वितरक तथा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।

यसका लागि विभागले सूचना जारी गरेपछि सम्बन्धित विक्रेता, वितरक वा कम्पनीले भीआरएस प्रणालीसँग आबद्ध हुन आवश्यक पूर्वाधार तयार गरी यातायात व्यवस्था कार्यालयसँग पहुँच माग गर्नुपर्नेछ। त्यसपछि कार्यालयले एकद्वार पहुँच हुने गरी बायोमेट्रिक विवरण लिन मिल्ने प्रणालीमार्फत सम्बन्धित संस्थालाई प्राविधिक पहुँच उपलब्ध गराउनेछ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्थाअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई सूचित गरेका छन्।

प्रतिकृया दिनुहोस
↑