सीएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क स्तन जाँच, म्यामोग्राम र ब्रेस्ट यूएसजीमा ५० प्रतिशत छुट 

चितवन। चितवन मेडिकल कलेज (सीएमसी) को भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरुकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ।

स्तन क्यान्सरबारे जनचेतना बढाउने र समयमै स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत स्तनसम्बन्धी निःशुल्क चिकित्सकीय परामर्श तथा परीक्षणको व्यवस्था गरिएको छ। म्यामोग्राम र ब्रेस्ट यूएसजीमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइएको इन्स्टिच्युटले जनाएको छ।

हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाका रूपमा मनाइन्छ। सोही अवसरमा सीएमसी क्यान्सर इन्स्टिच्युटले असोज १५ गतेदेखि सुरु गरेको यो विशेष अभियान कात्तिक १३ गते अर्थात् अक्टोबर ३० सम्म सञ्चालनमा रहनेछ।

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप देवकोटाका अनुसार अभियानका क्रममा स्तनसम्बन्धी समस्या भएका तथा स्वास्थ्य परीक्षण गराउन चाहने महिलाले विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श लिन सक्नेछन्।

‘स्तन क्यान्सरसम्बन्धी सचेतना बढाउनुका साथै महिलालाई समयमै परीक्षणका लागि प्रोत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,’ देवकोटाले भने।

उनका अनुसार आवश्यकताअनुसार स्तनसम्बन्धी जाँचको व्यवस्था गरिएको छ। म्यामोग्राम र ब्रेस्ट यूएसजी गर्नुपर्ने अवस्थामा दुवै सेवामा ५० प्रतिशत छुट दिइनेछ।

म्यामोग्राम र ब्रेस्ट यूएसजी स्तनमा देखिएका असामान्य परिवर्तनको परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्यांकनका लागि प्रयोग गरिने जाँच हुन्। यी सेवामा छुट दिँदा परीक्षण आवश्यक भएका महिलालाई सहज हुने इन्स्टिच्युटको अपेक्षा छ।

स्तन क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले समयमै यसको पहिचान र आवश्यक स्वास्थ्य परीक्षण महत्वपूर्ण मानिन्छ। स्तनमा गाँठो देखिनु, आकार वा स्वरूपमा असामान्य परिवर्तन आउनु तथा निप्पलमा असामान्य परिवर्तन देखिनुजस्ता समस्या देखिएमा चिकित्सकीय परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन्।

यस्ता लक्षण नदेखिए पनि उमेर, स्वास्थ्य अवस्था तथा व्यक्तिगत जोखिमका आधारमा चिकित्सकको सल्लाहअनुसार नियमित परीक्षण गराउँदा स्तन स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने बताइएको छ।

यसैलाई मध्यनजर गर्दै सीएमसी क्यान्सर इन्स्टिच्युटले अभियानमार्फत महिलालाई स्तन स्वास्थ्यप्रति सचेत रहन र समयमै परीक्षण गराउन आग्रह गरेको छ। इन्स्टिच्युटले ‘समयमै आफ्नो स्तनको जाँच गराई ढुक्क रहनुहोला’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिरहेको छ।

सीएमसी क्यान्सर इन्स्टिच्युट चितवन मेडिकल कलेज, भरतपुर–१०, चितवनको दोस्रो तल्लामा रहेको छ। अभियानअन्तर्गत निःशुल्क परामर्श तथा छुटसहितका सेवा अस्पतालको नियमित ओपीडी समयअनुसार उपलब्ध हुने इन्स्टिच्युटले जनाएको छ। शनिबार तथा दशैंका सार्वजनिक बिदाका दिन भने ओपीडी सेवा सञ्चालन नहुने जनाइएको छ।

प्रतिकृया दिनुहोस
↑