आज पनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत आज पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।
कार्यक्रमअन्तर्गत बुधबार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो। मंगलबार पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए।
अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे।
कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन्। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ।





प्रतिकृया दिनुहोस