रौतहटमा इँटा भट्टामा अलपत्र ४२ भारतीय मजदुरको उद्धार
रौतहटको एक इँटा भट्टामा अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी भारतीय प्रहरीको जिम्मा लगाएको छ।
गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित महम्मद मुजामिल मियाले सञ्चालन गरेको मदिना इँटा भट्टामा भारतबाट काम गर्न आएका मजदुरहरू अलपत्र परेको सूचना पाएपछि प्रहरीले उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उद्धार गरिएकामा १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जना छन्।
उनीहरू भारतीय ठेकेदारमार्फत इँटा भट्टामा काम गर्न नेपाल आएका थिए। मजदुर तथा उनीहरूका आश्रित परिवारलाई नेपाल ल्याउने ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरू भट्टामै अलपत्र परेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका भारतीय नागरिकलाई ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सारसम्म पुर्याइएको थियो।
गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपालमा रोजगारीका लागि ठेकेदारमार्फत ल्याइएका विदेशी श्रमिक अलपत्र पर्ने घटना बेलाबेलामा सार्वजनिक हुँदै आएका छन्।





प्रतिकृया दिनुहोस