स्वास्थ्य बीमामा आगामी पुसदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता, नवीकरण र स्वास्थ्य सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार अब बीमित परिवारले ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। यसले बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण र दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
यस्तै, स्वास्थ्य सेवा खरिद तथा भुक्तानी प्रणालीलाई थप वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ। कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट, वर्गीकरण तथा भुक्तानी विधिसहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नेछ।
डिजिटल प्रणालीलाई थप व्यवस्थित गर्ने क्रममा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट इएमआर प्रणालीमार्फत प्राप्त स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई मान्यता दिने निर्णयसमेत बोर्डले गरेको छ।






प्रतिकृया दिनुहोस