कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ। सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने ५ देखि ६ः३० बजेसम्म नामावलीउपर दाबीविरोध दर्ता गर्न सकिनेछ।

त्यसपछि ६ः३० देखि ७ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीउपर दाबीविरोध, ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि तीन स्थान तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।

मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑