हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुईवटा मल्टिसर्किट टावरको काम १०–१५ दिनभित्र सम्पन्न गरी दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आइतबार हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माणाधीन दुईवटा मल्टिसर्किट टावरको प्रगतिबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा प्रणालीको मेरुदण्डका रूपमा रहेको प्रसारण लाइनको बाँकी काम समयमै सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार हेटौंडा–ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन्। बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

‘१४ वटा टावर तयार भइसकेका छन्। बाँकी दुईवटा टावरको काम पनि राम्रो गतिमा भइरहेको छ। १०–१५ दिनभित्र तयार गरेर चार्ज गर्छौं। यसलाई ब्याकबोनका रूपमा लिएका छौँ। यसले विद्युत् आपूर्तिको विश्वसनीयता बढाउनुका साथै खपत र निर्यात दुवै बढाउन सहयोग गर्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।

उनका अनुसार दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी छ।

१२ वर्षदेखि रोकिएको आयोजना मन्त्रीको पहलपछि अघि बढ्यो

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको केही भागको काम लामो समयदेखि रोकिएको थियो। करिब १२ वर्षदेखि अल्झिएको आयोजनालाई अघि बढाउन ऊर्जामन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाएका थिए।

कार्यकारी निर्देशक श्रेष्ठले मन्त्री श्रेष्ठको पहलपछि रोकिएको काम अघि बढेर अहिले अन्तिम चरणमा पुगेको बताए।मन्त्री श्रेष्ठले पनि लामो समयदेखि रोकिएको प्रसारण लाइन निर्माणमा राज्यको ठूलो लगानी भइसकेको अवस्थामा काम अघि बढाउनु चुनौतीपूर्ण भए पनि अहिले महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।

‘१६ वटा टावरको काम विगत १२ वर्षदेखि रोकिएको थियो। राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेको थियो। तर के गर्ने भन्ने अन्योल थियो। सबैको सत्प्रयासबाट अहिले ऐतिहासिक काम सम्पन्न हुने चरणमा पुगेको छ,’ उनले भने।

उनका अनुसार हेटौंडाबाट चितवन हुँदै बुटवल तथा अर्को दिशाबाट ढल्केबरसम्म विद्युत् प्रवाह गर्ने संरचना बलियो बनेपछि नेपालको पूर्व–पश्चिम विद्युत् प्रसारण प्रणाली अझ सुदृढ हुनेछ।

३०० मेगावाटबाट २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने

मन्त्री श्रेष्ठले प्रसारण लाइन सम्पन्न भएपछि यस क्षेत्रमा विद्युत् प्रवाहको क्षमता उल्लेख्य रूपमा बढ्ने बताए। हाल करिब ३०० मेगावाट क्षमतामा विद्युत् प्रवाह भइरहेकोमा प्रसारण संरचना पूरा भएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने उनको भनाइ छ।

‘यो प्रसारण लाइन चार्ज भइसकेपछि नेपालको ऊर्जा प्रणाली धेरै सन्तुलित र गुणस्तरीय हुने विश्वास छ। १२ वर्षदेखि अलमलमा परेको प्रसारण लाइनले अहिले गति लिएको छ। ऊर्जा क्षेत्र अब स्थिर र बलियो हुन्छ। अहिले ३०० मेगावाट क्षमता छ भने यसबाट ढल्केबरतर्फ विद्युत् गइरहेको छ। यो बनेपछि २ हजार मेगावाट क्षमतामा विद्युत् प्रवाह हुन्छ। यो चानचुने उपलब्धि होइन,’ मन्त्री श्रेष्ठले भने।

पूर्व–पश्चिम विद्युत् राजमार्ग थप बलियो हुने

हेटौंडा–ढल्केबर खण्ड पूरा भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाहको संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रसारण लाइन सञ्चालनमा आएपछि देशका विभिन्न क्षेत्रमा उत्पादित विद्युत् आवश्यकताअनुसार अर्को क्षेत्रमा लैजान सहज हुनेछ। यसले एउटा क्षेत्रमा विद्युत् बढी र अर्को क्षेत्रमा कमी हुने अवस्थालाई व्यवस्थापन गर्नसमेत सहयोग पुग्नेछ।

विशेषगरी औद्योगिक क्षेत्रमा विद्युत्को माग बढ्दै गएकाले भरपर्दो प्रसारण संरचना आवश्यक भइरहेको अवस्थामा यो आयोजना महत्वपूर्ण मानिएको छ। 

प्रतिकृया दिनुहोस
↑