त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामरा जडान अनिवार्य

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीअन्तर्गतका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा जडान अनिवार्य गरेको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकको निर्णयअनुसार परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष तथा परीक्षा केन्द्रको प्रवेशद्वार स्पष्ट देखिने गरी सीसी क्यामरा जडान गर्नुपर्नेछ।

जडान गरिएका क्यामराले कम्तीमा डेढ महिनासम्मको दृश्य रेकर्ड सुरक्षित राख्नुपर्नेछ। साथै, उक्त रेकर्डको अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई आवश्यक पहुँच उपलब्ध गराउनुपर्ने त्रिविले जनाएको छ।

आगामी दिनमा सञ्चालन हुने परीक्षामा उक्त व्यवस्था अनिवार्य रूपमा लागू गर्न सबै परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ।

तोकिएअनुसार सीसी क्यामरा जडान नगर्ने वा परीक्षा नियन्त्रण कार्यालयलाई अनुगमनको पहुँच उपलब्ध नगराउने परीक्षा केन्द्र परिवर्तनसमेत गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले चेतावनी दिएको छ।

 

प्रतिकृया दिनुहोस
↑