दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

पूर्व–पश्चिम राजमार्ग अर्न्तगत नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-०२ दाउन्नेस्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन्।

दुर्घटनामा जाजरकोट भेरीगंगा–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ। नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६:१५ बजे उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको थियो। घाइतेमध्ये पवन बुढा र अस्लाम भगवानलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ। अस्लामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेमा हरिशरण थापा, तेजेन्द्रप्रसाद भण्डारी, आकृति थारू, सञ्जय थारू, प्रेम बम, अनोज खत्री, लालबहादुर कार्की र अनिल बुढाथोकी रहेका छन्। उनीहरूलाई अनुहार, टाउको, कम्मर, हात तथा खुट्टामा चोट लागेको छ। अधिकांश घाइते बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑