कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजदेखि

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर अधिवेशन प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षले आफ्नो १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका बनाएको छ। सोहीअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले यसअघि तत्काल महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो। संस्थापन पक्षले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया थालेको हो।

देउवा पक्षका अनुसार वडा अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने ५६ जिल्लामा निर्वाचन संयोजकसमेत परिचालन गरिएको छ।

महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने बताउँदै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै आधिकारिक मान्दै आएको छ। यही कारण उसले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभई छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस
↑