नयाँ डिजाइनको एक हजारको नोट बजारमा, यस्ता छन् विशेषता

नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ तथा केही सुरक्षण विशेषता परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो।

नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप राखिएको छ।

दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी नोटमा रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्। त्यस्तै, सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ।

नोटमा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागोसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटको पृष्ठभागमा चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ।

त्यसैगरी, नेपालको सातवटा प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत नोटको पृष्ठभागमा राखिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑