बागमती प्रदेशमा ओएन्डएम स्वीकृत, कर्मचारी दरबन्दी १३४ ले घट्ने

बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लामो समयदेखि अन्योलमा रहेको ओएन्डएम स्वीकृत गर्दै प्रदेश सरकारअन्तर्गतका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले मन्त्रिपरिषद् बैठकले ओएन्डएम स्वीकृत गरेको जानकारी दिए ।

उनका अनुसार हाल प्रदेश सरकारअन्तर्गत कायम कार्यालयका लागि ४ हजार ८१४ कर्मचारी दरबन्दी रहेकोमा ओएन्डएम स्वीकृतिपछि ४ हजार ६८० दरबन्दी प्रस्ताव गरिएको छ । यससँगै प्रदेश सरकारअन्तर्गत कर्मचारीको कुल दरबन्दी १३४ ले घट्ने भएको छ ।

यस्तै, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म गरी २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । समितिको काम सम्पन्न भएपछि उक्त अस्थायी दरबन्दी स्वतः खारेज हुने मन्त्री केसीले बताए ।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमातहतका कार्यालयका लागि पनि ९० जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

मन्त्री केसीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र केही मन्त्रालयको कर्मचारी दरबन्दी टुंगो लागिसकेको छ भने अन्य मन्त्रालयको ओएन्डएम अझै बाँकी छ । आगामी मन्त्रिपरिषद् बैठकबाट सबै मन्त्रालयको ओएन्डएमलाई पूर्णता दिने तयारी रहेको उनले बताए ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयमातहत रहेको प्रदेश वन सेवा केन्द्रका प्रमुख ११औँ तहका निरञ्जन श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ ।
 

प्रतिकृया दिनुहोस