उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय
सर्वदलीय बैठकले विपद् व्यवस्थापन तथा समग्र विकास निर्माणका विषयमा समन्वय र छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछिको खोजी तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका साथै विपद् जोखिम न्यूनीकरणका विषयमा काम गर्न संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए।
उनका अनुसार बाढीपछि लगातार हुँदै आएको सर्वदलीय बैठकलाई नै स्थायी प्रकृतिको सर्वदलीय संयन्त्रका रूपमा अघि बढाउने निर्णय गरिएको हो। संयन्त्रको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको उनले बताए।
संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीलगायतका दललाई समेटिने खरेलले जानकारी दिए। राष्ट्रिय सभामा प्रतिनिधित्व रहेको राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा सहभागी हुन औपचारिक रूपमा अनुरोध गर्ने निर्णय भएको उनले बताए।
सर्वदलीय बैठकले तत्काल एक साताभित्र संसदीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ। उक्त समितिमा संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व रहने खरेलले जानकारी दिए।
बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, खोजी तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका क्षेत्रमा सरकारले गरिरहेको कामको समीक्षा गरिएको थियो। साथै राजनीतिक दल तथा राज्यका विभिन्न निकायबाट भइरहेको योगदान र प्रयासबारे पनि गहन छलफल भएको उनले बताए।
यसैगरी, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाह सहभागी हुन लागेको विषयमा पनि बैठकमा छलफल भएको छ। महासभामा नेपालका तर्फबाट उठाउनुपर्ने विषय र अघि बढाउनुपर्ने छलफलका बारेमा विभिन्न दलका नेताहरूले सुझाव दिएको खरेलले जानकारी दिए।
उक्त सुझावलाई सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर रूपमा लिएको उनले बताए।





प्रतिकृया दिनुहोस