आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदा दिने प्रस्ताव

सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ। यसका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न विधेयक तयार गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार ऐन संशोधनसम्बन्धी विधेयक तयार भइसकेको छ। विधेयक मन्त्रिपरिषद्बाट पारित गराएर संसदमा पेस गर्ने तयारी भइरहेको उनले जानकारी दिएकी छन्।

प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था राखिएको मन्त्री गौतमले बताएकी छन्।

बदलिँदो जीवनशैली, बढ्दो कामको चाप र परिवारमा सन्तानको संख्या घट्दै गएको अवस्थामा नवजात शिशु तथा परिवारसँग पर्याप्त समय बिताउन अभिभावकलाई अवसर दिनु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको बताएकी छन्। प्रस्तावित व्यवस्था सुरक्षित मातृत्वसँगै अभिभावकत्वको क्षेत्रमा पनि महत्वपूर्ण नीतिगत परिवर्तन हुने उनको दाबी छ।

‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,’ मन्त्री गौतमले भनेकी छन्।

प्रतिकृया दिनुहोस