रोहितसहित यूएईका दुई खेलाडीलाई आईसीसीको कारबाही
नेपालका रोहित पौडेलसहित यूएईका खेलाडी अविद उस्मानी र खुजैमा तानविरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसीसी प्रिमियर कपको फाइनलका क्रममा आचारसंहिता उल्लंघन गरेकामा लेभल वानको अभियोग लगाउँदै जरिवाना गराएको छ ।
मलेसियामा शनिबार सम्पन्न फाइनलमा नेपाली इनिङ्सको ३१ औं ओभरमा अविद र रोहितबीच भनाभन भएको थियो । अनफिल्ड अम्पायरद्वयले त्यसलाई रोक्न खोजे पनि उनीहरूले अटेर गर्दै थप विवाद गरेको आईसीसीले जनाएको छ । अविद र रोहित दुवैलाई ‘आइसीसी कोड अफ कन्डक्ट फर प्लेयर्स एन्ड प्लेयर सपोर्ट पर्सनल’ को आचारसंहिताको नियम २.४ अनुरुप म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ ।सोही खेलमा फरक घटनाका लागि खुजैमालाई म्याच फीको १० प्रतिशत जरिवाना तोकिएको छ । यूएई इनिङ्सको ४६ औं ओभरमा आउट भएपछि उनले ब्याटले स्टम्पमा हानेका कारण उनलाई कारबाही गरिएको हो । उनीमाथि आचारसंहिताको नियम २.२ अनुरुप कारबाही तोकिएको आईसीसीले जनाएको छ ।
तीनै खेलाडीमाथि एक ‘डेमेरिट प्वाइन्ट’ पनि थपिएको छ । पछिल्लो २४ महिनामा यसअघि उनीहरूले यस्तो नियम उल्लंघन गरेका थिएनन् । २४ महिना अन्तरमा २ ‘डेमेरिट प्वाइन्ट’ भएको खण्डमा ती खेलाडीले निलम्बनका कारण एक टेस्ट वा दुई एकदिवसीय अन्तर्राष्ट्रिय वा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रियमध्ये एक गुमाउने छ ।
इमिरेट्स आईसीसी इन्टरनेसनल प्यालनका म्याच रेफ्री अली नाक्भीसामु सबै खेलाडीले गल्ती स्वीकार गरेकाले त्यसको सुनुवाइ राखिएको छैन । अनफिल्ड अम्पायरद्वय कालिदास विश्वनाथन र तावारक दारले तीन खेलाडीमाथि उक्त अनुशासन उल्लंघनको आरोप लगाएका थिए । नेपाल फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै एसिया कप क्रिकेटका लागि छनोट भएको थियो ।




.jpeg)
प्रतिकृया दिनुहोस