ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै समान ३/३ विकेट लिए। ललितनारायण राजवंशी र रोहितकुमार पौडेलले २/२ विकेट हात पारे।

ओमानका लागि जतिन्द्र सिंहले सर्वाधिक २५ रन बनाए। उनले ४१ बलमा दुई चौका प्रहार गरे। जितेन रमनान्डीले १३ रन बनाउँदा ओमानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ७६ बलमा चार चौका प्रहार गरे। बसिर अहमदले ४७ रन बनाए। ओपनर देव खनालले १३ तथा आसिफ शेखले १५ रन जोडे।

नेपालको इनिङ्स सम्हाल्ने क्रममा दीपेन्द्र र बसिरले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। उनीहरूको साझेदारीका कारण नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भएको थियो।

ओमानका लागि जय विक्रम ओडेडारा र हसनैन शाहले समान ३/३ विकेट लिए। मोहम्मद इमरानले २ तथा सकिल अहमद र मुजिबुर अलीले १/१ विकेट लिए।

अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतिकृया दिनुहोस