एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुने खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलको आत्मविश्वासका साथ नेपाली टोली आज मलेसियाविरुद्ध मैदानमा उत्रिँदैछ।
सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित नेपालले प्रतियोगितामा सहभागिता जनाएको हो। ५० ओभरको यस प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै रहेको छ। समूह ‘बी’ मा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर छन्।
मलेसियाविरुद्धको पछिल्लो पाँच एकदिवसीय खेलमा नेपाल अपराजित रहेको छ। हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो। त्यसैले घरेलु टोलीविरुद्धको आजको खेलमा पनि नेपाल बलियो मनोबलका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। साउदी अरेबियासँग भएका पछिल्ला दुई खेलमध्ये नेपालले एकमा जित हात पारेको थियो भने अर्को खेल रद्द भएको थियो।
समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेता टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ।





प्रतिकृया दिनुहोस