अमेरिकाले इरानी तेल बोकेका पाँच ट्यांकर ध्वस्त पारेपछि बढ्यो तनाव

अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको जनाएको छ। इरानले अमेरिकी युद्धपोतमाथि आक्रमणको प्रयास गरेपछि जवाफी कारबाहीस्वरूप ट्यांकरमाथि हमला गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको हो।

कमान्डका अनुसार ओमानको खाडीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले प्रयोग गरिरहेका चारवटा तेल ट्यांकर र खार्ग टापुनजिक अर्को एक ट्यांकरलाई निशाना बनाइएको हो।

अमेरिकी कारबाहीपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका अधिकांश ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको जनाएको छ।

यसैबीच, इरानले हर्मुज जलमार्गमा अमेरिकी मानवरहित पानीमुनि उपकरण नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकाले भने उक्त ड्रोन पुरानो र खराब अवस्थामा रहेको तथा संवेदनशील सूचना संकलन नगरेको जनाएको छ।

अमेरिका–इरानबीच बढ्दो समुद्री तनावले विश्वको प्रमुख तेल आपूर्ति मार्ग हर्मुज जलमार्ग प्रभावित हुने जोखिम बढाएको छ। यसले विश्व बजारमा तेल आपूर्ति र मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।

प्रतिकृया दिनुहोस