बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थापालाई भदौ ४ गते प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्त गरेका थिए। तर, सरकार गठनमा राप्रपाले दिएको समर्थनलाई लिएर पार्टीभित्रै विवाद भएपछि थापाको विश्वासको मत अनिश्चित बनेको छ।
राप्रपा केन्द्रीय नेतृत्वले मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा बैठकमै अनुपस्थित रहन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बागमती प्रदेशसभाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार दिउँसो पार्टीका सबै प्रदेशसभा सदस्यलाई ह्विप पठाएकी हुन्।
यस्तै, नेपाली कांग्रेसले पनि मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।१०४ सदस्य कायम रहेको बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री थापालाई कम्तीमा ५३ मत आवश्यक पर्छ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिष्ट पार्टीका २६ र एमालेका उपसभामुखसहित २५ सांसद छन्। राप्रपाका सांसदको मत भने अहिले निर्णायक देखिएको छ।





प्रतिकृया दिनुहोस