रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचन तयारीबारे निर्णय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन सुदृढीकरणबारे महत्वपूर्ण निर्णय गर्नेछ।

बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्नुका साथै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी गरेको छ। उम्मेदवार छनोट प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ।

यस्तै, रास्वपाले उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्ने तथा त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुनी र राजनीतिक खाका बनाउने विषयमा पनि छलफल हुनेछ।

बैठकले पार्टीका रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य र विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा निर्णय गर्नेछ।

त्यसैगरी, पार्टीका धारणा तथा गतिविधि सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस