लामो समयपछि पुनः सञ्चालन हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि उक्त रुटमा उडान सुरु गर्न लागेको हो।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढेसँगै उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले यो हवाई सेवा धार्मिक तथा पर्यटकीय यात्रुका लागि महत्वपूर्ण मानिन्छ।

गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च बढ्नुका कारण सेवा रोकिएको बुद्ध एयरले जनाएको थियो। पछिल्लो समय धार्मिक पर्यटकको आगमन र यात्रुको माग बढेपछि उडान पुनः सञ्चालन गर्न लागिएको हो।

बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। यसका लागि बुकिङसमेत खुला गरिएको छ।

उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यसले पश्चिम नेपाल तथा भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बाँकेको बागेश्वरी मन्दिर तथा भारतको अयोध्यालगायत धार्मिकस्थलमा पुग्न सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुनेछ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालनमा आएको थियो।

प्रतिकृया दिनुहोस