दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर

प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण अन्यायमा परेका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।

धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको बताइन्।

उनले दाइजोका कारण कसैलाई अन्याय वा समस्या भए आफूलाई जानकारी गराउन आग्रह गरिन्। दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनतः दण्डनीय भएकाले त्यस्ता गतिविधि नगर्न पनि उनले सचेत गराइन्।

दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउँदै ठाकुरले सामाजिक कुरीति हटाउन सबैले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिइन्। ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अगाडि बढाउन पनि सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्। छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उनले भनिन्, ‘दाइजो समाजका लागि अभिशाप हो। सबै मिलेर यसको अन्त्य गरौँ।’

छोरी र बुहारीलाई शिक्षित बनाउन तथा अध्ययनका लागि प्रोत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानसँगै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरसमक्ष मागपत्र बुझाएका थिए।

प्रतिकृया दिनुहोस