अल्पमतमा परेका बानियाँले भदौ १ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले भदौ १ गते दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन्। एमालेले गत साउन ६ गते समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री बानियाँले प्रदेश सभा सचिवालयमा पत्राचार गरेपछि भदौ १ गतेका लागि प्रदेश सभा बैठक बोलाइएको हो।

१०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

हाल कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका दुई गरी मुख्यमन्त्री बानियाँको पक्षमा ३८ सांसद मात्र छन्। सरकार जोगाउन उनलाई थप १५ सांसदको समर्थन आवश्यक पर्नेछ। त्यसका लागि बानियाँले राप्रपाका १२ र नेमकिपाका तीन सांसदको समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

तर राप्रपाले प्रदेश सरकार गठनको अंकगणितमा सहभागी नहुने संकेत गर्दै आएको छ। यस्तो अवस्थामा मुख्यमन्त्री बानियाँका लागि विश्वासको मत जुटाउनु चुनौतीपूर्ण देखिएको छ।

प्रतिकृया दिनुहोस