४४ जिल्लामा आजदेखि सुपथ मूल्य पसल, सामानमा छुट
सरकारले यस वर्ष दशैँ–तिहारलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल विगतका वर्षको तुलनामा झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याउने भएको छ।
उपभोक्तालाई वर्षभरि दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। कम्पनीको सातौँ वार्षिकोत्सवका अवसरमा सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउनेछ।
चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढेसँगै मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। दशैँ–तिहारको मुख्य खरिद अवधि सुरु हुनुअघि नै पसल सञ्चालनमा आएपछि उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो तथा प्रतिलिटर पाँच रुपैयाँसम्म छुट दिइनेछ। विशेषगरी चामल, दाल, गेडागुडी लगायत अत्यावश्यक खाद्यवस्तु खरिद गर्ने उपभोक्ताले यसबाट प्रत्यक्ष राहत पाउनेछन्।
देशका विभिन्न क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा आउँदा उपभोक्ताले सरकारी सहुलियतको लाभ लिन सक्नेछन्। विशेषगरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारलाई मूल्य छुटले खर्च व्यवस्थापनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस