एआईको दुरुपयोग बढ्यो, सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले कृत्रिम बौद्धिकता (एआई) तथा अन्य प्रविधिको दुरुपयोग गरी तयार गरिएका सामग्री सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा प्रसारण हुने क्रम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, भोटाहिटीले साउन २७ गते सार्वजनिक सचेतना जारी गर्दै प्रविधिको दुरुपयोगमार्फत व्यक्तिको तस्बिर तथा भिडियो कृत्रिम रूपमा तयार पार्ने, तथ्यहीन सूचना फैलाउने र कसैको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सार्वजनिक गर्ने गतिविधि बढिरहेको जनाएको हो।

ब्युरोका अनुसार यस्ता गतिविधिले व्यक्तिको चरित्र तथा प्रतिष्ठामा क्षति पुर्‍याउनुका साथै समाजमा अनावश्यक भय, भ्रम र गलत सूचना फैलाउन सक्छ। यस्ता कार्य नैतिक रूपमा अनुचित हुनुका साथै प्रचलित कानुनअनुसार दण्डनीयसमेत भएकाले संलग्न व्यक्ति वा संस्थामाथि कानुनी कारबाही हुन सक्ने प्रहरीले चेतावनी दिएको छ।

सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यममा प्रसारित सामग्रीलाई तत्काल सत्य मानेर प्रतिक्रिया नदिन पनि साइबर ब्युरोले आग्रह गरेको छ। कुनै सूचना प्राप्त भएमा त्यसको विश्वसनीयता परीक्षण गरी आधिकारिक तथा भरपर्दा स्रोतबाट मात्र यथार्थ जानकारी लिन अनुरोध गरिएको छ।

प्रहरीले एआई तथा अन्य प्रविधिको प्रयोग गर्दा जिम्मेवार बन्न र एआईमार्फत सिर्जना वा सम्पादन गरिएका सामग्रीलाई गलत उद्देश्यले उत्पादन तथा प्रसारण नगर्न सबैलाई सचेत गराएको छ।

प्रतिकृया दिनुहोस