कोटिहोम महायज्ञमा दमौलीको समूहद्वारा भजन किर्तन
भरतपुर । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा विभिन्न समूहरुले भजन किर्तन गर्दै आएका छन् ।
बिहीबार दमौलीबाट आएको व्यास ज्योती भजन किर्तन समूहले भजन किर्तन गरेको थियो । त्यस्तै, बुटवलबाट आएकी बालिका दीक्षा भण्डारीले प्रवचन गरिन् भने भरतपुर–२ निवासी महेश पोदारले नगद २१ हजार १११ र भरतपुर–११ विशालचोक निवासी रनमाया क्षेत्रीले नगद १० हजार १०० रुपैयाँ महायज्ञलाई दान गरे ।
महायज्ञमा हरेक दिन बिहान ८ बजेदेखि नै भजन किर्तन हुँदै आएको महायज्ञका संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । गत बैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञलाई सफल बनाउन नेपालबाट मात्र नभई विदेशमा बस्ने नेपालीहरुले समेत आर्थिक सहयोग गरेका छन् ।
महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् । महायज्ञमा नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ र भागवत पाठ परायण भइरहेको छ । वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको हो ।
महायज्ञमा नौ वर्षमुनिका एक हजार आठ बालिकाहरुको सामुहिक पूजा गरिने छ । पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा लगायतका धार्मिक ग्रन्थहरुको पाठपरायण, गौकथा प्रवचन हुनेछ भने पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने छ ।





प्रतिकृया दिनुहोस