आज साँझ ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालमा कति बेला देखिन्छ ?

आज फाल्गुन शुक्ल पूर्णिमाका दिन साँझ ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। खगोलविद्हरूका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने भएकाले यो ग्रहण विशेष र दुर्लभ मानिएको छ।

काठमाडौँमा बेलुका ६ बजेर ३–४ मिनेट जाँदा चन्द्रमा ग्रहणसहित उदाउनेछ भने करिब ७ बजेर ४ मिनेटमा ग्रहण समाप्त हुनेछ। नेपालबाट झन्डै एक घण्टासम्म यो दृश्य स्पष्ट रूपमा अवलोकन गर्न सकिने बताइएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार चन्द्रग्रहण स्पर्शका बेला खग्रास भए पनि नेपालमा चन्द्रोदयपछि भने खण्डग्रास (झन्डै आधा भाग ढाकिएको) रूपमा देखिनेछ।

खगोलविद्हरूले चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरण वा चस्मा आवश्यक नपर्ने बताएका छन्। सूर्यग्रहणजस्तो आँखामा असर नपर्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिन्छ।

यसअघि गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट साढे तीन घण्टासम्म देखिएको थियो। अब सूर्यग्रहण भने नेपालबाट २०८४ सालमा मात्र देखिने बताइएको छ।

कसरी लाग्छ ग्रहण?

पूर्णिमामा चन्द्रग्रहण र औँसीमा सूर्यग्रहण लाग्ने गर्छ। जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्छन्, तब ग्रहणको अवस्था सिर्जना हुन्छ। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण देखिन्छ भने चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ।

चन्द्रग्रहण विश्वका धेरै स्थानबाट एकैपटक देख्न सकिन्छ, तर सूर्यग्रहण भने पृथ्वीका सीमित स्थानबाट मात्र देखिने गर्छ।

धार्मिक परम्पराअनुसार ग्रहणका बेला जप, ध्यान, स्नान र पाठ गर्ने चलन छ। बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन नगर्ने मान्यता भए पनि बालबालिका, रोगी, अशक्त तथा वृद्धवृद्धाका लागि यो नियम अनिवार्य मानिँदैन।

प्रतिकृया दिनुहोस