आज नाग पञ्चमी मनाइँदै
आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । वैदिक सनातन परम्पराअनुसार आज नागको पूजा, आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन पर्न गएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, घरमा नागको चित्र टाँस्दा वर्षभरि सर्प, बिच्छीलगायतका विषालु जीवले दुःख नदिने र अग्नि, मेघ एवं चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने जनविश्वास रहेकाले उनीहरूलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार, श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएकाले पनि यस दिनलाई नागपूजाको विशेष दिनका रूपमा लिइन्छ।
प्रत्येक घरको जगमुनि नागको बास हुने र उनीहरू रिसाए घरको जग नै भत्कने धार्मिक मान्यता रहेकाले नागलाई खुसी पार्न यो पूजा गरिँदै आइएको हो।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।





प्रतिकृया दिनुहोस