घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो ।गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने, “थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।”

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।

निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । उनले भने, “निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ ।”

मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए ।

यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।


 

प्रतिकृया दिनुहोस
↑