स्वास्थ्य बीमा परिचयपत्रको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने

अब स्वास्थ्य बीमा परिचयपत्रको सक्कल प्रति साथमा नभए पनि फोटोकपी देखाएर स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा त्यसको फोटोकपीका आधारमा सेवा उपलब्ध गराउन निर्देशन दिएको हो।

बोर्डका प्रवक्ता तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहद्वारा जारी परिपत्रअनुसार परिचयपत्रको फोटोकपीमा उल्लेखित विवरण स्पष्ट देखिएमा स्वास्थ्य बीमा नम्बरका आधारमा बीमितको पहिचान पुष्टि गरी उपचार सेवा प्रदान गर्नुपर्नेछ।

त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो दर्ता प्रणालीमार्फत बीमा नम्बर जाँच गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोर्डले परिचयपत्रको सक्कल प्रति साथमा नभएको कारण मात्रै देखाएर कुनै पनि बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस
↑