फास्ट ट्र्याकअन्तर्गत महादेवटार सुरुङ ब्रेकथ्रु
तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा लामो मकवानपुरको महादेवटारस्थित दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लम्बाइको सुरुङको ‘ब्रेक–थ्रु’ गरेका हुन्। यसअघि ३.४८६ किलोमिटर लामो बायाँ टनेल गत भदौमा छिचोलिएको थियो।
करिब ७१ किलोमिटर लामो द्रुतमार्गको काम २०८६ चैत मसान्तसम्म सक्नुपर्ने समयसीमा छ। ‘ब्रेकथ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधबार आयोजित सुरुङको ‘ब्रेकथ्रु’ समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ सीले निर्माणका बाँकी कामलाई तीव्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताएका हुन् ।
हालसम्म यो आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत छ। सेनाका अनुसार द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो । महादेवटार सुरुङको ब्रेकथ्रुसँगै अब थप सुरुङ निर्माणका काम अघि बढ्ने सेनाको अपेक्षा छ ।





प्रतिकृया दिनुहोस