सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

सौराहा । पर्यटकीय नगरी चितवनको सौराहामा पहिलो पटक हुने लागेको चर्चित ब्याण्ड नेपथ्य लाइभको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल डायरिज र एबी ईभेन्ट्सको आयोजनामा 'नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान' भन्ने नारासहित सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो ।

मंसिर ३ गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमस्थल सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदान व्यवस्थापनको काम धमाधम भईरहेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले बताए ।

कार्यक्रमका लागि अर्ली बर्ड, विद्यार्थीको सहुलियत टिकट र प्याराफिट सिटिङसहितको प्रथम चरणको भिआईपी टिकट सोल्ड आउट भईसकेको उनले बताए । अब भिआईपी प्रायोरेटी र रेगुलर टिकट मात्र उपलब्ध छन् । कार्यक्रममा चितवनसहित छिमेकी जिल्लाहरु नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट करिब १० हजार दर्शकहरु सहभागी हुने अपेक्षा रहेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम संगीत र पर्यटनलाई जोड्न कोशेढुङ्गा हुने श्रेष्ठको भनाइ छ । यस पटक सौराहा आउने पर्यटकहरु प्रकृतिसँगै आफ्नै माटोको सुगन्ध बोकेको नेपथ्यको धुनमा रमाउन पाउने उनले बताए । कार्यक्रमका लागि दिउँसो ४ बजेदेखि गेट खुला हुने एबी ईभेन्ट्सका निर्देशक अंकित गौतमले बताए । कार्यक्रममा आउने मध्य चितवन बाहिरका करिब ४० प्रतिशत दर्शक सौराहामा बस्ने हुँदा यसले सौराहाका होटल तथा रेष्टुरा व्यवसायलाई आर्थिक रुपमा पनि टेवा पुग्ने गौतमको भनाइ छ ।

प्रतिकृया दिनुहोस
↑