भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ भने कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ ।

त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ ।

समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस
↑