नारायणी महोत्सव आयोजकले भन्यो : नदी किनारलाई व्यवस्थित गर्नेबाहेक अरु स्वार्थ छैन
नारायणगढ । नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सवको तयारीमा रहेको रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टले सामाजिक सन्जालमा देखिएको टिकाटिप्पणी बारे स्पष्ट पारेको छ । उसले बाढीपछि कुरूप बनेको नदी किनारलाई पुनः व्यवस्थित गर्न खोजिएको स्पष्ट पारेको हो ।
तीन महिना अघि नै महोत्सव आयोजनाका लागि स्वीकृति लिएको र पछिल्लो समय आएको बाढीले नदी किनार क्षेत्रको स्वरुप परिवर्तन भएपछि अहिले व्यवस्थित गर्न खोजिएको आयोजकको भनाइ छ । संस्थाले ठूलो आर्थिक लगानी र श्रम खर्च गरेर नदी किनारलाई व्यवस्थित गर्न खोजेको बिषयमा तोडमोड नगर्न तथा अन्यथा नलिन पनि उसले आग्रह गरेको छ ।
एउटा निजी संस्थाले आफ्नै लगानीमा सार्वजनिक रुपमा प्रयोग हुने नदी किनारलाई व्यवस्थित गर्न खोज्दा सहकार्यको हात अघि बढाउनुको सट्टा उल्टै आरोप, प्रत्यारोप र विरोध हुनु दु:खद भएको रेड रक इभेन्ट्सका अध्यक्ष बिकल क्षेत्रीको भनाइ छ । उनले नारायणी किनारमा व्यवस्थापनमा मात्रै ५० देखि ६० लाख खर्च हुने अवस्था रहेको र नदी किनारलाई व्यवस्थित गर्नु बाहेक आफूहरुको अरु कुनै स्वार्थ नभएको पनि स्पष्ट परेका छन् ।
उनले आयोजकको सोच महोत्सवमा मात्र सीमित नरहेको बताउँदै यसलाई अझै व्यवस्थित, सुरक्षित र सुन्दर बनाउन सहयोग गर्ने उद्देश्य रहेको बताए । यस्तै उनले नारायणीलाई बगरमै सीमित राख्ने मात्र नभई सुरक्षित, व्यवस्थित र पर्यटकीय गौरवका रूपमा विकास गर्ने अभियानमा सहकार्य गर्न तयार रहेको बताए । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, मजुवाको समस्या, नारायणगढ बजारको बाढी जोखिम, नगरवनको संरक्षण र चितवनको पर्यटन विकाससँग जोड्न सबैले चासो दिनुपर्ने उनको भनाइ छ ।





प्रतिकृया दिनुहोस