कर्णालीले दियो काठमाडौंलाई १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दशौँ खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

कर्णालीका लागि बंगलादेशी ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । जारी प्रतियोगितामा आफ्नो उत्कृष्ट लय कायम राखेका उनले यसअघि जनकपुर बोल्ट्सविरुद्ध ४३ र विराटनगर किंग्सविरुद्ध ३२ रन बनाएका थिए ।

त्यस्तै, पाकिस्तानका अलराउन्डर हुसैन तलातले २९ बलमा ४० रनको योगदान दिए । उनले एक चौका र दुई छक्का प्रहार गरे । उनी हिट विकेटको सिकार भए ।

तलातले पाँचौँ विकेटका लागि पवन सर्राफसँग ६५ रनको महत्वपूर्ण साझेदारी गरे । पवनले २४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा अविजित ३० रन बनाए ।

कर्णालीका गुल्सन झाले १२ बलमा दुई छक्कासहित २० रन जोडे । मार्क वाटले २० बलमा दुई चौकासहित १७ रन बनाउँदा दीपक डुम्रेले आठ रन बनाए । जिसन आलमले सात रन जोडे ।

काठमाडौंका लागि रिपोन मोन्डोलले दुई विकेट लिए भने साहब आलम, देव शाह, जहानदाद खान, सन्तोष यादव र करण केसीले समान एक विकेट लिए ।

कर्णाली याक्स प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ । यसअघि उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको थियो ।

यता, काठमाडौं गोर्खाज भने पहिलो जितको खोजीमा छ । उसले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार बेहोरेको थियो ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस
↑