एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ । प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

अर्कोतर्फ, कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । यसअघिका दुवै खेल कर्णालीले जितेको थियो । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो ।

सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। सुदूरपश्चिमले हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ।

चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो ।

प्रतिकृया दिनुहोस
↑