बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध
बाढीपहिरो र अविरल वर्षाका कारण पृथ्वीराजमार्गसहित देशका विभिन्न स्थानमा १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। सडकमा पहिरो खस्ने, खोलाबाट लेदो आउने तथा पानीको बहाव बढ्ने भएपछि यातायात आवागमन प्रभावित भएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खसेपछि पृथ्वीराजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ।
त्यस्तै, बीपी राजमार्गको काभ्रे खण्ड पनि अवरुद्ध भएको छ। आज बिहान ४ः५५ बजेदेखि रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ को गिम्दीबेँसीस्थित सडकमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि सडक अवरुद्ध भएको छ।
ललितपुरको बागमती खोला करिडोर तथा कान्तिलोकपथका विभिन्न खण्डमा समेत यातायात सञ्चालन हुन सकेको छैन। अविरल वर्षाका कारण पानीको बहाव बढेपछि ललितपुर महानगरपालिका–२ बल्खु र सुन्दरीघाटस्थित करिडोरको सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोरकै पाल्पा खण्डमा रामपुर नगरपालिका–१ कासिबनस्थित पक्की सडकमा माथिबाट ढुङ्गासहितको पहिरो खसेर आवागमन बन्द भएको छ।
यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।





प्रतिकृया दिनुहोस