नेपाली गेमिङ उद्योगको विस्तारमा प्रधानमन्त्री बालेनको जोड
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि आवश्यक नीतिगत सुधार र कर सहुलियतको व्यवस्था गर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली युवाले निर्माण गरेका गेमहरूले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताएका हुन्।
उनका अनुसार नेपालीले विकास गरेको चर्चित ‘लुडो गेम’ झण्डै २० करोड पटक डाउनलोड भएको छ भने ‘कलब्रेक गेम’ १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ। यसबाहेक नेपालमा सयौँ युवा गेम एप निर्माणमा सक्रिय रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरी उनीहरूले भोगिरहेका समस्या र उद्योग विस्तारका सम्भावनाबारे जानकारी लिइएको पनि बताएका छन्। यस क्षेत्रलाई सहज बनाउँदै व्यवस्थित उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ।
‘सयौँ युवाहरू गेम एप बनाउन तल्लीन हुनुहुन्छ। हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउन तथा उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्यौँ,’ उनले लेखेका छन्।
उनले नेपालबाटै विश्वस्तरका ठूला प्रविधि कम्पनी निर्माण गर्न सहज हुने गरी विद्यमान नियम, नीति र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने बताएका छन्।
त्यस्तै, आईटी उत्पादन तथा सेवा निर्यातको क्षेत्रमा पनि नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न र त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।





प्रतिकृया दिनुहोस