दशैँ खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी

दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन् ।

दशैँअघि इमेल र पोर्टलमार्फत विभागमा ती उजुरी प्राप्त भएका हुन् । अझै पनि चाडपर्व खर्च नपाएको भन्दै उजुरी आउने क्रम जारी रहेको विभागका महानिर्देशक चक्रपाणी पाण्डेले जानकारी दिए ।

श्रम ऐन, २०७४ अनुसार रोजगारदाताले प्रत्येक वर्ष श्रमिकलाई खाइपाइ आएको एक महिनाको तलब बराबरको रकम चाडपर्व खर्चबापत उपलब्ध गराउनुपर्ने व्यवस्था छ । नेपालमा यस्तो खर्च विशेषगरी दशैँका अवसरमा उपलब्ध गराउने प्रचलन छ ।

तर, ऐनमा व्यवस्था भएअनुसार चाडपर्व खर्च नपाएको गुनासो श्रमिकले विभागमा गरेका छन् । उजुरी प्राप्त भएपछि विभागले सुनुवाइ प्रक्रिया अघि बढाएको महानिर्देशक पाण्डेले बताए ।

उनका अनुसार चाडपर्व खर्च नपाएको गुनासो आएपछि विभागको निर्देशनमा श्रम तथा रोजगार कार्यालय बुटवलले रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई कर्मचारीको रकम भुक्तानी गर्न भनेको थियो । कार्यालयले २०८३ असोज ३० गते अस्पताललाई पत्राचार गर्दै श्रम ऐनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको थियो ।

त्यसपछि अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण कार्यालयमा पेस गरेको छ ।

विभागले सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा समेत सम्बन्धित कार्यालयलाई रोजगारदातासँग समन्वय गरी श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन पहल गर्न लगाएको छ ।

यसअघि विभागले दशैँ बिदाअघि नै श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) लाई पत्राचार गरेको थियो ।

त्यसैगरी, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्र पठाउँदै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो ।

तर, विभागले आग्रह तथा निर्देशन दिए पनि कतिपय रोजगारदाताले त्यसको पालना नगरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस
↑