इनर्जी ड्रिङ्क्स सेवनमा सावधानी अपनाउन विभागको आग्रह
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ ।
इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै विभागले यस्तो आग्रह गरेको हो । विभागले स्वस्थ वयस्कलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिङ्क्स सेवन नगर्न सुझाव दिएको छ ।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन् । उत्पादनको लेबल र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण (इएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (युएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने क्याफिनको कुल मात्रा दैनिक ४०० मिलिग्रामसम्म हुन सक्ने वैज्ञानिक आधार प्रस्तुत गरेका छन् । विभागका अनुसार नेपालमा उत्पादित इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम छ ।
विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध, मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न आग्रह गरिएको छ । उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा राख्न पनि विभागले निर्देशन दिएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकता दिँदै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।





.jpeg)
प्रतिकृया दिनुहोस