दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा–च्याङ्ग्रा निकासी
यस वर्षको दसैँका अवसरमा मुस्ताङ हुँदै करिब ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन्।
कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष मुस्ताङ मार्ग हुँदै १३ हजार २७९ भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। तीमध्ये ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ भेडा रहेका छन्।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङबाट मात्रै २२ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडा–च्याङ्ग्रा निकासी भएका छन्। त्यस्तै, कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट करिब १३ करोड रुपैयाँ मूल्य बराबरका भेडा, च्याङ्ग्रा तथा च्यालु (माउ) यही मार्ग हुँदै बाहिरिएका छन्।
कार्यालयका अनुसार मुस्ताङबाट सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएका छन्। मुस्ताङका किसानले पालेका खोरपाला तथा तिब्बतबाट कोरला नाका हुँदै भित्र्याइएका ४०० भन्दा बढी भेडा–च्याङ्ग्रा मुस्ताङका व्यापारीले पोखरा र काठमाडौंलगायतका सहरमा बिक्रीका लागि पठाएका छन्।
यसैगरी, डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा तथा मुगुबाट ३२० च्याङ्ग्रा र ४० भेडा निकासी भएका छन्।
कार्यालयका अनुसार यस वर्ष च्याङ्ग्राको औसत मूल्य प्रतिगोटा ३३ हजार रुपैयाँ, भेडाको २२ हजार रुपैयाँ र च्यालु (माउ)को १० हजार रुपैयाँ कायम गरिएको थियो।





प्रतिकृया दिनुहोस