शिक्षकलाई गाडी किन्न ५० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने प्रस्ताव
शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन् ।
त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक तह तथा प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउने प्रस्ताव गरिएको छ ।
नियमावलीमा बैंकमार्फत सवारीसाधन खरिदका लागि लिइने ऋणको लागत रकममा लाग्ने किस्तागत ब्याजको ८० प्रतिशतसम्म सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था प्रस्ताव गरिएको छ । बाँकी २० प्रतिशत रकम भने शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ ।
प्रस्तावअनुसार शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।





प्रतिकृया दिनुहोस