चाडपर्व सुरक्षामा २८ हजार सशस्त्र प्रहरी परिचालन

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत देशभर २८ हजार १२६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ भने थप ४ हजार ५०० जनशक्तिलाई आवश्यक परेको समयमा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सीमा सुरक्षा, सडक दुर्घटनामा उद्धार तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

नागरिकलाई सहज आवागमन र आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न स्थानमा १४१ वटा नागरिक सहायता कक्ष, १६ वटा नागरिक स्वास्थ्य कक्ष र १३ वटा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सीमा क्षेत्रमा भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा संयुक्त गस्तीसमेत भइरहेको छ ।

सीमा नाकाबाट अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषधको ओसारपसार नियन्त्रण गर्न झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाहमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

त्यस्तै, सडक दुर्घटना तथा आकस्मिक घटनामा तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितका टोली खटाइएको छ । ठूलो दुर्घटना हुँदा एकैपटक धेरै घाइतेको उद्धार गर्न सकिने सवारीसाधनसमेत उपत्यकासहित सातै प्रदेशमा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्राकृतिक तथा अन्य विपद्का घटनामा तत्काल उद्धार गर्न देशभरका अस्थायी तथा स्थायी विपद् प्रतिकार्य बेसमा दक्ष जनशक्ति र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको छ । पिकेट, चेक प्वाइन्ट, पैदल तथा मोबाइल गस्ती, बम डिस्पोजल टोली र गोताखोरसहितका उद्धार टोलीलाई पनि २४ घण्टा परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना बनाइएको छ । संवेदनशील क्षेत्रको निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ भने सीमा नाकाका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सीसीटीभी क्यामेराबाट चौबीसै घण्टा निगरानी गर्ने व्यवस्था मिलाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

आपत्कालीन अवस्था वा अन्य समस्या परेका नागरिकले सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस
↑