भोटेकोशी बाढीपीडितलाई रेडक्रसले प्रतिपरिवार १ लाख दिने

नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको ‘समुन्नति कार्यक्रम’मार्फत प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउन लागेको हो । यससम्बन्धी सम्झौतामा मन्त्रालय र नेपाल रेडक्रसबीच हस्ताक्षर भइसकेको छ ।

मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले मंगलबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बाढीबाट प्रभावित लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता दिइनेछ । प्रारम्भिक अनुमानअनुसार करिब ६ हजार परिवार प्रभावित भएका छन् ।

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार लाभग्राहीको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त हुनेछ । आवश्यक प्रमाणीकरणपछि छनोट भएका लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ ।

प्राप्त रकम प्रभावित परिवारले खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायत आफ्ना प्राथमिक आवश्यकतामा खर्च गर्न सक्नेछन् ।

नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ ।

सम्झौताअनुसार मन्त्रालयले नीतिगत निर्देशन, अनुगमन तथा समन्वय गर्नेछ भने स्थानीय तहले लाभग्राही पहिचान र प्रमाणीकरणमा सहयोग गर्नेछ । नेपाल रेडक्रसले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन र जवाफदेहितासम्बन्धी काम गर्नेछ ।

रेडक्रसले बाढीपछि प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण, सामुदायिक संलग्नता तथा लैङ्गिक समावेशीकरणलगायतका क्षेत्रमा मानवीय सहायता जारी राखेको जनाएको छ ।

आगामी तीन महिनाका लागि आवश्यक तत्कालीन कार्ययोजनासमेत तयार गरिएको रेडक्रसले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑