दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ मा
यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।समितिका अनुसार विजया दशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ।
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।
असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ।
असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। असोज ३१ गते शनिबार फूलपाती परेको छ। सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ बजेर ३७ मिनेटमा र स्थिरासनको शुभसाइत बिहान १० बजेर ३९ मिनेटमा रहेको छ।
कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि र कार्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ।
कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन हो। सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा, स्थिरासनको शुभसाइत ११ बजेर ५२ मिनेटमा रहेको छ। सोही दिन खड्गयात्रा पनि हुनेछ। कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ समितिले जनाएको छ ।


-1787734962.jpeg)


प्रतिकृया दिनुहोस