दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
चितवन । दूधको उत्पादन लागत निरन्तर बढ्दै गएको भन्दै चितवनका दुग्ध किसानले कच्चा दूधको खरिद मूल्य वृद्धि गर्न सरकारसँग माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दूधको मूल्य बढाउन माग गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री, मन्त्रालयका सचिव तथा कृषि तथा प्राकृतिक स्रोत समितिसमक्ष ज्ञापनपत्र बुझाएको छ।
चितवनबाट काठमाडौं पुगेको टोलीले बुधबार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्र र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा किसानले उत्पादन गर्ने दूधको लागत बढ्दै गएकाले सरकारले दूधको खरिद मूल्य पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ।
सरकारले यसअघि २०७९ फागुन १९ गते ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरेको थियो। त्यसयता केही वर्षदेखि दूधको मूल्य यथावत् रहे पनि पशुपालनमा प्रयोग हुने दाना, चोकर, चिनी, पिना, औषधिलगायत सामग्रीको मूल्य बढेकाले दूधको मूल्य वृद्धि गर्न आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ।
“उत्पादन लागत बढ्दै जाँदा किसानलाई दुग्ध व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ,” ज्ञापनपत्रमा भनिएको छ।

संघले कच्चा दूधको खरिद मूल्य वृद्धि गर्नुपर्ने मागसँगै पशु आहारसँग सम्बन्धित कच्चा पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुट गर्नुपर्ने तथा दूध बिक्री गरेबापत किसानले हरेक १५ दिनमा भुक्तानी पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डीडीसी० लगायत निजी डेरी उद्योगले किसानबाट खरिद गरेको दूधको भुक्तानीमा ढिलाइ गर्दा किसान थप समस्यामा परेको संघले जनाएको छ। किसानलाई समयमै भुक्तानी हुने व्यवस्था मिलाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले किसानका मागका विषयमा अध्ययन गर्ने बताइन्। किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुटको विषय भने अर्थ मन्त्रालयले रोकेको उनको भनाइ छ।
चितवनमा दैनिक करिब ३ लाख ७५ हजार लिटर दूध उत्पादन हुन्छ। दूधमा आत्मनिर्भर जिल्ला चितवनले आफ्नै दूध बिक्री केन्द्र सञ्चालन गर्नुका साथै पशु आहार तथा दाना उत्पादनलगायतका गतिविधि गर्दै आएको जनाएको छ।






प्रतिकृया दिनुहोस