दशैँको मुखमा दुबईमा गुञ्जिँदै नेपथ्य
नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आगामी अक्टोबर ४ (असोज १८) मा सांगीतिक प्रस्तुति दिने भएको छ । दक्षिण कोरियाको सफल कार्यक्रमपछि नेपथ्यले दुबईको इन्टरनेट सिटीस्थित ‘दी अजेन्डा’ हलमा कन्सर्ट गर्न लागेको हो ।
नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ । यसअघि ब्यान्डले दुबईमा तीनवटा कन्सर्ट गरिसकेको छ । यसपटक भने दर्शकलाई स्तरीय अनुभव प्रदान गर्ने उद्देश्यले आधुनिक सुविधासम्पन्न हल छनोट गरिएको आयोजकले जनाएको छ ।
दशैँको संघारमा घरपरिवारबाट टाढा रहेका नेपालीलाई नेपाली संगीतमार्फत आफ्नोपनको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यूएईमा सात लाखभन्दा बढी नेपाली बसोबास गर्दै आएको पछिल्लो अध्ययनले देखाएको छ ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले दुबईमा रहेका नेपाली दर्शकका लागि आवश्यक तयारी पूरा भएको बताएका छन् । यसपटक दर्शकलाई सँगै गाउन र नाच्न प्रेरित गर्ने रमाइला गीतलाई प्राथमिकता दिइने उनले बताए ।
ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका अनुसार कन्सर्टलाई व्यवस्थित बनाउन हल र ध्वनि प्रणालीमा विशेष ध्यान दिइएको छ । यसअघि सन् २०१५ मा भूकम्पपीडितको सहयोगार्थ दुबईमा प्रस्तुति दिएको नेपथ्यले कोभिड महामारीपछि सन् २०२२ मा पनि त्यहीँबाट विदेश भ्रमण सुरु गरेको थियो ।
यसपटक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् ।
कन्सर्टको टिकट नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np बाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।




.jpeg)
प्रतिकृया दिनुहोस