आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्ग बन्द
अविरल वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि चितवन र धादिङ प्रशासनले प्रमुख राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा तथा बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। यात्रा गर्नैपर्ने अवस्था भएमा मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
त्यस्तै, अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पनि पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले धादिङ तथा आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
धादिङ प्रशासनले जारी गरेको सूचनाअनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको छ। साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ।
वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम रहेकाले प्रशासनले यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो।





प्रतिकृया दिनुहोस